नुवाकोट तादी–६ मा सामुदायिक स्वास्थ्य इकाइ भवन उद्घाटन तथा हस्तान्तरण



नुवाकोट, जेठ २७ – तादी गाउँपालिका वडा नं. ६ मा नेपाल ग्रीन तारा फाउन्डेसनको आर्थिक सहयोग तथा तादी गाउँपालिकाको समन्वयमा निर्माण सम्पन्न सामुदायिक स्वास्थ्य इकाइ भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

स्थानीय नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको उक्त भवनको उद्घाटन प्रदेश सभा सदस्य राधिका तामाङले गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता वडा नं. ६ का वडा अध्यक्ष सिरिमान तामाङले गर्नुभएको थियो भने विशेष अतिथिका रूपमा तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ तथा विशिष्ट अतिथिका रूपमा उपाध्यक्ष सञ्जु प्याकुरेलको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा नेपाल ग्रीन तारा फाउन्डेसनका अध्यक्ष बन्दी निमा शेर्पा, संरक्षक तथा संस्थापक तासी तेन्जिङ शेर्पा, महासचिव रविन छर लगायत संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक तथा प्रदेश सभा सदस्य रोशन श्रेष्ठ, पूर्व गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे, पूर्व उपाध्यक्ष ईश्वर उप्रेती, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीयवासीको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न सामुदायिक स्वास्थ्य इकाइ भवनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। नवनिर्मित स्वास्थ्य पूर्वाधारले तादी गाउँपालिका वडा नं. ६ सहित आसपासका क्षेत्रका बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका सहभागीहरूले भवन निर्माणमा सहयोग पुर्‍याएको नेपाल ग्रीन तारा फाउन्डेसनप्रति आभार व्यक्त गर्दै स्वास्थ्य क्षेत्रको विकासमा यस्ता साझेदारीमूलक प्रयासहरू थप प्रभावकारी हुने बताएका थिए। उद्घाटन तथा हस्तान्तरण कार्यक्रम जनप्रतिनिधि, अतिथि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिताबीच सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्