कालापानी–लिपुलेकबारे सरकारको स्पष्ट धारणा माग



काठमाडौं, जेठ २८ — नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेङम्बे ले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले ती क्षेत्र फिर्ता ल्याउने विषयमा नेपाल सरकारको स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ले यही जेठ १७ गते संसद्मा प्रश्नोत्तरका क्रममा व्यक्त गर्नुभएको धारणाबारे परराष्ट्रमन्त्री शिशिर खनाल ले स्पष्ट पारेपछि नेता आङदेङम्बेले नेपालको मिचिएको भूमि फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको धारणा राख्नुभयो।

उहाँले सरकारले गरेका सकारात्मक कार्यमा विपक्षी दलको साथ रहने उल्लेख गर्दै राष्ट्रिय भूभागका विषयमा अस्पष्ट जवाफ दिने प्रवृत्ति उपयुक्त नभएको बताउनुभयो। कांग्रेसले राष्ट्रिय स्वाभिमान र सङ्कटका बेला दलगत लाभ–हानिभन्दा देशको हितलाई प्राथमिकता दिँदै आएको स्मरण गराउँदै वर्तमान सरकारका सन्दर्भमा पनि सोही नीति अवलम्बन गरिने स्पष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस्