चितवनमा बर्डफ्लु पुष्टि भएपछि ३८ हजारभन्दा बढी लेयर्स कुखुरा नष्ट



चितवन, जेठ २८ — चितवनमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान) सङ्क्रमण पुष्टि भएपछि ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ।

खैरहनी नगरपालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा बर्डफ्लु सङ्क्रमण देखिएपछि नियन्त्रणका लागि कुखुरा, अण्डा तथा दाना नष्ट गरिएको पशु सेवा कार्यालय चितवनले जनाएको छ। कार्यालय प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जेठ २३ गते सङ्क्रमण पुष्टि भएपछि जेठ २४ गतेदेखि कुखुरा नष्ट गर्ने काम सुरु गरिएको थियो। लगातार तीन दिनसम्म सञ्चालन गरिएको अभियानपछि मङ्गलबार फार्मलाई पूर्ण रूपमा सरसफाइ गरी सिल गरिएको उनले बताए।

उनका अनुसार उक्त फार्मबाट एक हजार ४०५ पेटी अण्डा र १२ टन दानासमेत नष्ट गरिएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा परीक्षणका लागि पठाइएको नमूनामा एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान पुष्टि भएपछि नियन्त्रणका उपायस्वरूप कुखुरा, अण्डा र दाना नष्ट गरिएको कार्यालयले जनाएको छ।

संक्रमण थप फैलिन नदिन अन्य स्थानबाट समेत नमूना संकलन गरी परीक्षणको काम जारी रहेको डा. न्यौपानेले जानकारी दिए। यसअघि चैत १२ गते भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक कुखुरा फार्ममा पनि बर्डफ्लु संक्रमण पुष्टि भएको थियो। त्यसबेला १७ हजार ८७० लेयर्स कुखुरा तथा नजिकैको अर्को फार्मका ९३५ स्थानीय कुखुरा नष्ट गरिएको थियो।

नेपालको कुखुराजन्य क्षेत्रमा रु. ७० अर्बभन्दा बढी लगानी रहेको छ।बर्डफ्लुको पुनः देखिएको संक्रमणले कुखुरा व्यवसायीहरूमा चिन्ता थपिएको छ।

प्रतिक्रिया दिनुहोस्