चीन भ्रमणमा जाने तयारीमा परराष्ट्रमन्त्री खनाल
काठमाडौं, जेठ २८ — परराष्ट्रमन्त्री शिशिर खनाल छिमेकी मुलुक चीन को औपचारिक भ्रमणमा जाने तयारीमा रहनुभएको छ। परराष्ट्र मन्त्रालयले भ्रमणको आन्तरिक तयारी भइरहेको जनाएको छ भने आधिकारिक मिति पछि सार्वजनिक गरिने बताएको छ।
बुधबार आयोजित अन्तरक्रियामा मन्त्री खनालले परराष्ट्र मन्त्रालयको आन्तरिक तथा बाह्य मामिला सुधारका लागि गृहकार्य भइरहेको जानकारी दिँदै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सशक्त बनाइने र विदेशी कूटनीतिज्ञलाई लुम्बिनी फेलोसिप कार्यक्रममार्फत नेपालसँग आबद्ध गराइने बताउनुभयो।
उहाँले भू–रणनीतिक सम्मेलन, सगरमाथा संवाद तथा प्रोफेसर यदुनाथ खनाल प्रवचन कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो। हालै सम्पन्न आफ्नो भारत भ्रमण उपलब्धिमूलक रहेको उल्लेख गर्दै विभिन्न विषयमा घनिभूत छलफल भएको बताउनुभयो। परराष्ट्रसचिव अमृतबहादुर राई ले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रहित प्रवर्द्धन गर्ने अवसर रहेको धारणा राख्नुभयो।

