आजदेखि सुरु हुँदै फुटबल महाकुम्भ



काठमाडौँ, जेठ २८ – विश्वकै लोकप्रिय खेल प्रतियोगिता मानिने फिफा विश्वकप आजबाट अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा सुरु हुँदैछ। पहिलो पटक तीन देशले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपमा यसपटक ४८ राष्ट्र सहभागी छन् भने कुल १०४ खेल खेलाइनेछन्।

मेक्सिकोको एस्टाडियो एज्टेका रंगशालामा उद्घाटन खेलसँगै सुरु हुने प्रतियोगिता जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा फाइनल खेलसँगै सम्पन्न हुनेछ। विश्वकप हेर्ने दर्शक संख्या विश्व जनसंख्याको ५८ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

स्पेन, फ्रान्स, अर्जेन्टिना, इङ्ग्ल्यान्ड, ब्राजिल, जर्मनी र पोर्चुगललाई उपाधिका प्रमुख दाबेदार मानिएको छ। साथै अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको सम्भावित अन्तिम विश्वकप भएकाले उनीहरूप्रति विशेष चासो रहेको छ।

यस संस्करणमा कुल पुरस्कार राशि ६५५ मिलियन अमेरिकी डलर राखिएको छ, जसमा विजेता टोलीले ५० मिलियन डलर प्राप्त गर्नेछ। यात्रा प्रतिबन्ध, आप्रवासन नीति, सुरक्षा चुनौती र अत्यधिक गर्मी यस विश्वकपका प्रमुख चुनौतीका रूपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्