सडक निर्माणमा खटिएको टिप्पर दुर्घटना, एकको मृत्यु



स्याङ्जा,जेठ २८ । स्याङ्जाको चापाकोट नगरपालिकामा सडक निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

चापाकोट नगरपालिका–४ पुम्दीस्थित मल्याङकोटबाट घुर्लीचौरतर्फ जाँदै गरेको ग १ क ४४४६ नम्बरको टिप्पर उकालो सडकमा चिप्लिएर करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

दुर्घटनामा टिप्परमा सवार म्याग्दीको मालिका गाउँपालिका–५ निवासी २३ वर्षीय तिलक परियार गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई उपचारका लागि गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो।

त्यस्तै दुर्घटनामा १८ वर्षीय करण परियार घाइते हुनुभएको छ। उहाँको हात र खुट्टामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको तथा स्वास्थ्य केन्द्रमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि टिप्पर चालक दाङको शान्तिनगर गाउँपालिका–१ निवासी २६ वर्षीय रेशमबहादुर गिरी फरार भएका छन्। चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको टिप्पर मल्याङकोट–घुर्लीचौर सडक निर्माणका लागि बालुवा ढुवानी गरिरहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्