इजरायल रोजगारीका लागि भाषा परीक्षा स्थगित, १७ हजारभन्दा बढी युवा प्रभावित
काठमाडौं, जेठ २८ – इजरायलमा केयरगिभर रोजगारीका लागि अनिवार्य गरिएको आधारभूत तहको अङ्ग्रेजी भाषा प्रमाणपत्र (क्याम्ब्रिज अपस्किल्स इङ्ग्लिस टेस्ट) व्यवस्थापनमा देखिएका प्राविधिक समस्या र परीक्षार्थीको व्यापक गुनासोपछि परीक्षा स्थगित गरिएको छ।
त्रिपुरेश्वरस्थित सिआइआइएनमार्फत सञ्चालन गरिएको परीक्षामा सर्भर समस्या, हेडसेट तथा कम्प्युटर सेटअपको कमजोरी, अत्यधिक भिडभाड र सञ्चालनगत अव्यवस्थाका कारण परीक्षा प्रभावित भएको भन्दै परीक्षार्थीहरूले विरोध जनाएका थिए। परीक्षा स्थगनसँगै १७ हजारभन्दा बढी नेपाली युवा प्रभावित भएका छन्।
परीक्षार्थीका अनुसार एउटै हलमा करिब दुई सय जनासम्मलाई राखेर परीक्षा सञ्चालन गरिएको थियो। स्पिकिङ टेस्टका क्रममा आवाज र प्रणालीबीच समन्वय नमिल्दा समस्या भएको तथा सर्भर ढिलो चल्ने, सामग्री लोड हुन समय लाग्ने र निर्धारित समयभित्र परीक्षा पूरा गर्न कठिनाइ भएको गुनासो गरिएको छ।
परीक्षार्थीहरूले प्रतिव्यक्ति पाँच हजार रुपैयाँ शुल्क लिइए पनि आवश्यक कम्प्युटर, गुणस्तरीय हेडसेट र अन्य पूर्वाधारको व्यवस्था नगरिएको आरोप लगाएका छन्।
यसअघि इजरायल रोजगारीका लागि भाषा परीक्षण ब्रिटिस काउन्सिलमार्फत सञ्चालन हुँदै आएको भए पनि यस पटक सिआइआइएन अन्तर्गत नयाँ प्रणाली लागू गरिएको थियो, जसले सुरुदेखि नै विवाद निम्त्याएको थियो।
वैदेशिक रोजगार विभागले भने इजरायली पक्ष (पिबा) को छनोटअनुसार परीक्षा सञ्चालन गरिएको र जिम्मेवार संस्थामा देखिएको प्राविधिक तथा सञ्चालनगत समस्याका कारण परीक्षा अवरुद्ध भएको जनाएको छ।

