मनसुनभर हेलिकोप्टर उडानमा दुई पाइलट अनिवार्य



काठमाडौं, जेठ २८ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनसुनयाममा उडान सुरक्षालाई थप मजबुत बनाउन नेपालमा सञ्चालन हुने हेलिकोप्टर उडानमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने व्यवस्था लागू गरेको छ।

प्राधिकरण अन्तर्गतको उडान सुरक्षा मापदण्ड विभागले जारी गरेको मनसुन सर्कुलरअनुसार मेडिकल उद्धार (रेस्क्यु) उडानबाहेक सबै हेलिकोप्टर उडानमा दुई जना पाइलटको व्यवस्था गर्नुपर्नेछ।

सर्कुलरमा पाइलट र डिस्प्याचरले उडानअघि विमानको प्राविधिक अवस्था तथा न्यूनतम उपकरण सूची (एमईएल) अनिवार्य रूपमा जाँच गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, उडान मार्ग, गन्तव्य र वैकल्पिक विमानस्थलको मौसमसम्बन्धी सम्पूर्ण जानकारी लिएर मात्र उडान सञ्चालन गर्न निर्देशन दिइएको छ।

प्राधिकरणले मनसुनका बेला बदलिँदो मौसम, कम दृश्यता तथा अन्य जोखिमलाई ध्यानमा राख्दै उडान सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न सबै हेलिकोप्टर कम्पनीलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्