बागमती सभापतिका दाबेदार डा. अच्युतम लामिछाने असन्तुष्ट, ‘एक व्यक्ति एक पद’ बहसले तातेको राजनीति
काठमाडौं,जेठ २८ — प्रतिनिधि सभा सदस्य एवम् बागमती प्रदेश सभापतिका दाबेदार डा. अच्युतम लामिछानेले पार्टीभित्र उठिरहेको ‘एक व्यक्ति एक पद’ को अभ्यासप्रति असन्तुष्टि जनाएका छन्। उनले यो बहसलाई राजनीतिक रूपमा गलत भाष्य निर्माण गर्ने प्रयास भन्दै प्रश्न उठाएका छन्।
उनका अनुसार पार्टीभित्र केही नेताहरूले ‘एक व्यक्ति एक पद’ को नारा अगाडि सार्दै विभिन्न तहका नेतृत्वमा प्रतिस्पर्धा गर्ने आकांक्षामाथि अंकुश लगाउन खोजिएको छ। उनले यस्तो अभ्यास व्यवहारिक रूपमा कति सम्भव हुन्छ भन्ने प्रश्नसमेत गरेका छन्।
“राजनीतिमा एउटा खराब भाष्य सिर्जना गर्न खोजिँदैछ,” लामिछानेले भने, “यदि एक व्यक्ति एक पदको नीति लागू गर्ने हो भने पालिका, प्रदेश र केन्द्र सबै तहमा कडाइका साथ लागू गर्नुपर्छ।”
उनले पालिका तहदेखि प्रदेश र संघीय नेतृत्वसम्म एउटै मापदण्ड लागू हुनुपर्ने तर्क राख्दै भने, यदि पालिका सभापति वा प्रतिनिधिहरूलाई आगामी निर्वाचनमा मेयर वा अध्यक्षको टिकटमा दाबी गर्न नपाइने हो भने, त्यही नियम प्रदेश र संघीय तहका नेताहरूमा पनि लागू हुनुपर्ने उनको भनाइ छ।
लामिछानेले पार्टीको आगामी अधिवेशनलाई संकेत गर्दै भने, सांसद, केन्द्रीय सदस्य, प्रवक्ता, कोषाध्यक्ष, महामन्त्रीदेखि सभापतिसम्म सबैलाई एउटै नीति अन्तर्गत बाँध्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठाएका छन्।
उनको भनाइमा, यदि ‘एक व्यक्ति एक पद’ को नीति कडाइका साथ लागू गर्ने हो भने राजनीतिक संरचनाभित्र ठूलो पुनर्संरचना आवश्यक पर्नेछ, जसले दलभित्रको प्रतिस्पर्धा र नेतृत्व छनोट प्रक्रियामै प्रभाव पार्न सक्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यस्ता बहसहरूले दलभित्र अनुशासन र अवसर वितरणबारे नयाँ छलफल जन्माए पनि व्यवहारिक रूपमा यसको पूर्ण कार्यान्वयन जटिल हुने देखिन्छ।
आगामी महाधिवेशन नजिकिँदै गर्दा बागमती प्रदेशभित्र नेतृत्व चयनको बहस झन् तीव्र बनेको छ।

