जनप्रतिनिधिको फरक उदाहरण : सुविधा त्यागेर सेवामा समर्पित पञ्चकन्याका अध्यक्ष तामाङले गरे ल्यापटप र मोबाइल फिर्ता
नुवाकोट,जेठ २८ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा जनप्रतिनिधिको जवाफदेहिता र सुशासनको एउटा फरक उदाहरण प्रस्तुत भएको छ। गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ ले आफ्नो दुई कार्यकालको करिब नौ वर्षे सेवाअवधिमा कार्यालयबाट प्रयोगमा लिएको ल्यापटप र मोबाइल सेट समेत कार्यपालिकाको बैठकमार्फत जिन्सी शाखालाई हस्तान्तरण गर्नुभएको छ।
२०७४ सालमा पहिलो पटक र २०७९ सालमा दोस्रो पटक गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएका तामाङले सार्वजनिक पदमा रहँदा प्रयोग गरेका सामग्री व्यक्तिगत स्वामित्वमा नराखी संस्थागत सम्पत्तिको रूपमा फिर्ता गरेर जिम्मेवार नेतृत्वको सन्देश दिनुभएको हो।
अध्यक्ष तामाङका अनुसार आफ्नो दुई कार्यकालमा प्रदेश तथा संघीय कानुनले स्थानीय तहका प्रमुखलाई उपलब्ध गराउने विभिन्न सुविधामध्ये अतिथि सत्कार, घरभाडालगायतका सुविधा आफूले नलिएको बताउनुभएको छ। उहाँले जनप्रतिनिधिको पदलाई सुविधा प्राप्त गर्ने माध्यमभन्दा पनि जनसेवाको अवसरका रूपमा लिएको उल्लेख गर्नुभयो।
हाल कार्यालयीय कामकाजका लागि प्रयोग भइरहेको एउटा सिम कार्ड र गाउँपालिकाको सवारीसाधन भने कार्यकाल समाप्त नभएसम्म सेवाग्राहीसँगको सम्पर्क र सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक रहेकाले कार्यकाल सकिएपछि सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने जानकारी पनि उहाँले कार्यपालिकासमक्ष गराउनुभएको छ।
“व्यक्तिगत प्रयोजन र सुविधाका लागि कार्यालयबाट कुनै सेवा–सुविधा लिएको छैन,” अध्यक्ष तामाङको भनाइ उद्धृत गर्दै गाउँपालिकाले जनाएको छ। उहाँले जनताको सेवामा समर्पित भएर काम गर्नु नै आफ्नो प्राथमिकता रहेको धारणा राख्नुभएको छ।
स्थानीय तहमा जनप्रतिनिधिहरूमाथि सेवा–सुविधा र स्रोत–साधनको प्रयोगबारे बेलाबेला प्रश्न उठ्ने गरेका बेला पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तामाङको यो कदमलाई पारदर्शिता, मितव्ययिता र सार्वजनिक सम्पत्तिप्रतिको उत्तरदायित्वको उदाहरणका रूपमा हेरिएको छ।
जनताले सुम्पिएको जिम्मेवारीलाई व्यक्तिगत लाभभन्दा माथि राख्दै सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोगमा उहाँले देखाएको प्रतिबद्धताले स्थानीय शासन प्रणालीप्रति नागरिक विश्वास अझ बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

