‘अब प्लास्टिक होइन, हरियालीको बाटो’ : विदुर–५ ‘प्लास्टिक मुक्त वडा’ घोषणा



विदुर, जेठ २८ – नुवाकोटको विदुर नगरपालिका–५ लाई ‘प्लास्टिक मुक्त वडा’ घोषणा गरिएको छ। प्लास्टिकजन्य वस्तुको प्रयोग न्यूनीकरण तथा ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला प्रयोग निषेध अभियानअन्तर्गत बुधबार आयोजित कार्यक्रममा वडालाई औपचारिक रूपमा प्लास्टिक मुक्त घोषणा गरिएको हो।

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा दिगो विकासलाई प्राथमिकता दिँदै प्लास्टिकको प्रयोग घटाउने सामूहिक प्रतिबद्धतासहित हस्ताक्षर गरेर घोषणा गरिएको हो।

विदुर नगरपालिकाको संरक्षकत्वमा वडा नं. ५ को आयोजनामा तथा डिभिजन वन कार्यालय नुवाकोट र लामीबगैचा सामाजिक युवा क्लबको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय संघसंस्था, विद्यालय, विद्यार्थी तथा विभिन्न सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।

वडा अध्यक्ष लिलानाथ न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरउपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल, डिभिजन वन कार्यालयका प्रमुख प्रदीपनाथ शर्मा, भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख महेश पौडेल तथा विभिन्न वडाका जनप्रतिनिधिहरू सहभागी थिए।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि तथा लामीबगैचा सामाजिक युवा क्लबका अध्यक्ष सुजन गजुरेलसहित क्लबका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले प्लास्टिकजन्य फोहोर नियन्त्रण, वातावरणीय संरक्षण र स्वच्छ, हरित तथा दिगो समाज निर्माणका लागि सामूहिक रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विदुर–५ को यो घोषणा स्थानीय तहमा वातावरण संरक्षण अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्