कांग्रेसमा साझा संयन्त्रको प्रस्ताव, महाधिवेशन निष्पक्ष बनाउन महतको जोड



काठमाडौं,जेठ २८ । नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता तथा प्रकाशशरण महत ले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र सर्वस्वीकार्य बनाउन छोटो अवधिका लागि साझा संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव गरेका छन्।

बिहीबार काठमाडौंस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा महतले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको वर्तमान संरचनाबीच समन्वय आवश्यक रहेको बताए। यस्तो संयन्त्रले पार्टीभित्र बढ्दो अविश्वास र अन्योल हटाउन सहयोग पुग्ने उनको भनाइ छ।

महतले पार्टीभित्र बृहत् एकताको आवश्यकता औँल्याउँदै सभापति गगन थापा ले यस विषयमा पहल गर्नुपर्ने धारणा राखे। “फाट्टफुट्ट भेटघाटले मात्र समाधान हुँदैन, दुवै पक्ष एकै ठाउँमा बसेर संवाद गर्नुपर्छ,” उनले भने।

उनले १५औँ महाधिवेशनको निष्पक्षता, क्रियाशील सदस्यता व्यवस्थापन र पार्टी विधान संशोधनलाई तत्काल समाधान खोज्नुपर्ने प्रमुख विषयका रूपमा अघि सारे। महाधिवेशन निष्पक्ष हुने घोषणा मात्र पर्याप्त नभई त्यसप्रति विश्वासको वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा देखिएका विवाद संवादमार्फत समाधान गर्नुपर्ने उल्लेख गर्दै महतले मृत्यु भएका वा अन्य दलमा गएका सदस्यहरूको विवरण डिजिटल प्रणालीमार्फत अद्यावधिक गर्न सकिने सुझाव दिए। “अद्यावधिकको विरोध होइन, तर लामो समयदेखि सक्रिय सदस्यलाई प्रक्रियागत कारणले बाहिर राखिनु हुँदैन,” उनले बताए।

त्यस्तै, पार्टी विधान संशोधन पनि सबै पक्षको सहमतिमा अघि बढाउनुपर्ने उनको धारणा छ। महतले १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट बनेका संरचनालाई समायोजन गरी छोटो अवधिको साझा संयन्त्र निर्माण गर्न सकिने उल्लेख गर्दै यसले आगामी महाधिवेशनलाई सर्वस्वीकार्य बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

उनले पार्टी विभाजनको कुनै मनसाय नरहेको स्पष्ट पार्दै कांग्रेसभित्र तत्काल बृहत् एकता कायम गर्नुपर्ने आवश्यकता बताए ।

प्रतिक्रिया दिनुहोस्