नुवाकोट शिवपुरी गाउँपालिकाका सबै विद्यालयमा दुईदिने साप्ताहिक बिदा लागू
नुवाकोट, जेठ २८—जिल्लाको शिवपुरी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा धार्मिक विद्यालयमा आइतबारसमेत बिदा दिने व्यवस्था लागू गर्ने निर्णय गरेको छ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २२ गतेको निर्णय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार सातामा दुई दिन बिदा दिने व्यवस्था लागू गर्ने सम्बन्धमा गाउँ कार्यपालिकाको २०८३ जेठ २८ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो।
गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै आउने सातादेखि लागू हुने गरी शिवपुरी गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयमा शनिबारसँगै आइतबार पनि साप्ताहिक बिदा रहने जनाएको हो ।
गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबै विद्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको छ। यस निर्णयसँगै शिवपुरी गाउँपालिकाका विद्यालयहरूमा अब साताको दुई दिन बिदा हुने व्यवस्था औपचारिक रूपमा लागू भएको छ।


