धान रोपाइँअघि मल अभाव नहुने दाबी, साउनसम्म थप ९० हजार मेट्रिकटन मल भित्रिने
काठमाडौं,जेठ २८ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा करिब ६ लाख मेट्रिकटन रासायनिक मल अनुदानमा उपलब्ध गराइने बताएकी छन्। राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले हालसम्म ५ लाख ५८ हजार ५२२ मेट्रिकटन मल आपूर्ति भइसकेको जानकारी दिइन्।
मन्त्री चौधरीका अनुसार हालसम्म ४ लाख ६८ हजार १६ मेट्रिकटन मल किसानलाई बिक्री–वितरण गरिसकिएको छ भने १ लाख ६८ हजार ८०२ मेट्रिकटन मल मौज्दात रहेको छ। धान रोपाइँको मुख्य याममा मल अभाव हुन नदिन मन्त्रालयले आवश्यक तयारी र समन्वय गरिरहेको उनले बताइन्।
उनले मल आपूर्तिका लागि सम्झौता गरिसकेका आपूर्तिकर्तालाई समयमै मल उपलब्ध गराउन ताकेता गरिएको जानकारी दिँदै असार अन्तिमदेखि साउन महिनासम्म थप ९० हजार मेट्रिकटन मल नेपाल भित्रिने अपेक्षा गरिएको बताइन्।
मन्त्री चौधरीका अनुसार भारतसँग सरकार–सरकार (जिटुजी) खरिद प्रक्रियामार्फत ८० हजार मेट्रिकटन मल खरिदका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको छ। पहिलो चरणमा ३० हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डिएपी खरिद प्रक्रिया सुरु गरिएको छ, जसको आपूर्ति साउन महिनादेखि हुने अपेक्षा गरिएको छ।
उनले रासायनिक मलको सन्तुलित प्रयोगसँगै प्राङ्गारिक तथा जैविक मलको प्रयोगलाई प्रोत्साहन गर्न देशभर सूचना तथा जनचेतनामूलक सन्देश प्रवाह गरिएको बताइन्। साथै, सबै किसानले बिना भेदभाव सहज रूपमा मल प्राप्त गर्न सकून्, अनुदानको मलमा हुन सक्ने अपचलन रोकियोस् र वितरण प्रक्रिया पारदर्शी तथा व्यवस्थित बनोस् भन्ने उद्देश्यले ‘अनुदानको मल वितरण कार्य व्यवस्थापन निर्देशिका–२०८२’ को प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकार, स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरिएको जानकारी दिइन्।

