कार दुर्घटनामा पूर्व बैङ्कर रेशमबहादुर थापाको निधन
पोखरा,जेठ २९। कास्कीको पोखरा महानगरपालिका–३१ पचभैयामा बिहीबार साँझ भएको सवारी दुर्घटनामा परी पूर्व बैङ्कर रेशमबहादुर थापाको निधन भएको छ।
थापाले आफैँ चलाउँदै गरेको बा १३ च ४२०९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेपछि उहाँ गम्भीर घाइते हुनुभएको थियो। बेगनास–भोर्लेटार सडकखण्डअन्तर्गत पचभैयामा भएको उक्त दुर्घटनापछि उहाँलाई उपचारका लागि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल, मोहरियामा लगिएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार उपचारका क्रममा चिकित्सकले थापालाई मृत घोषणा गरेका हुन्।
पोखरा महानगरपालिका–३१ का स्थायी बासिन्दा थापा पछिल्लो समय पोखरा–४ गैह्रापाटनमा बस्दै आउनुभएको थियो। उहाँको परिवारले यसअघि पनि दुःखद घटना भोगेको थियो। केही वर्षअघि थापाका छोराको समेत मोटरसाइकल दुर्घटनामा निधन भएको थियो।

