सम्पत्ति विवरण बुझाउनेको संख्या बढ्यो, राजनीतिक पदाधिकारी अझै मौन



काठमाडौँ, जेठ २९ — सार्वजनिक पदाधिकारी तथा पूर्वपदाधिकारीको सम्पत्ति छानबिनका लागि गठित आयोगमा हालसम्म करिब आठ हजार जनाले सम्पत्ति विवरण बुझाएका छन्। आयोगका अनुसार पछिल्लो समय दैनिक औसत एक हजारभन्दा बढीले विवरण बुझाइरहेका छन्।

आयोगका प्रवक्ता गणेश केसीका अनुसार सर्वोच्च अदालतका पूर्वन्यायाधीश, पूर्वमुख्यसचिव, पूर्वसचिव, पूर्वमन्त्री तथा संवैधानिक निकायका पदाधिकारीहरूले विवरण बुझाइसकेका छन्। हालसम्म ५,२१६ जनाले प्रत्यक्ष उपस्थित भएर, १,८०० भन्दा बढीले अनलाइनमार्फत र ५७८ जनाले हुलाकमार्फत विवरण दर्ता गराएका छन्।

तर विभिन्न राजनीतिक दलबाट सार्वजनिक पदमा पुगेका अधिकांश पूर्वराजनीतिज्ञ तथा पदाधिकारीले भने अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन्। आयोगका अनुसार उनीहरूसँग अनौपचारिक सम्पर्क भए पनि तोकिएको समयभित्र विवरण बुझाउने प्रतिबद्धता जनाइएको छ।

सम्पत्ति विवरण बुझाउनुपर्ने केही व्यक्तिको आग्रहमा आयोगले एक महिनाका लागि म्याद थप गरेको छ। आयोगमा हालसम्म सम्पत्ति छानबिनका लागि एक हजारभन्दा बढी उजुरी समेत दर्ता भएका छन्।

प्रतिक्रिया दिनुहोस्