संविधान संशोधन बहसपत्रको मसौदा लेखन सुरु
काठमाडौँ, जेठ २९ – संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्राप्त सुझावहरू समेट्दै मसौदा लेखन प्रक्रिया सुरु गरेको छ। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली, सङ्घीयता, न्यायपालिका सुधारलगायत आठ प्रमुख विषयमा केन्द्रित भएर बहसपत्र तयार गरिरहेको जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा रहेको कार्यदलले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, राजनीतिक दल, नागरिक समाज, कानुनविद् तथा सरोकारवाला निकायसँग चरणबद्ध छलफल गरी सुझाव सङ्कलन गरेको छ।
कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली, सङ्घीयता, प्रदेश संरचना, स्थानीय तह, न्यायपालिका तथा संवैधानिक निकायहरूको सुधारसम्बन्धी विषयमा राय लिएको जनाएको छ। पूर्वराष्ट्रपति डा. रामवरण यादव र विद्यादेवी भण्डारीले संविधान संशोधनमा बृहत् राष्ट्रिय सहमति आवश्यक रहेको सुझाव दिएका छन् भने पूर्वप्रधान न्यायाधीश खिलराज रेग्मीले संविधानको मूल मर्म कायम राख्दै स्थायित्व र सन्तुलनमा ध्यान दिन आग्रह गरेका छन्।
यसैबीच, कार्यदलले पूर्वप्रधानमन्त्रीहरूपुष्पकमल दाहाल, माधबकुमार नेपाल र झलनाथ खनालसँग पनि छलफल गरी सुझाव सङ्कलन गरेको छ ।

