हेटौँडाका २७ स्थानमा हाइमास्ट लाइट, राति झलमल्ल बन्यो शहर
हेटौंडा,जेठ २९ । हेटौँडा उपमहानगरपालिकाले ‘उज्यालो नगर’ अवधारणालाई कार्यान्वयन गर्दै उपमहानगरका २७ स्थानमा हाइमास्ट लाइट जडान गरेको छ।
रात्रिकालीन आवतजावतलाई सुरक्षित र सहज बनाउने उद्देश्यले हेटौँडा–४ को हुप्राचौरमा चार वटा, हेटौँडा–१ तरकारी बजार क्षेत्रमा दुई वटा तथा हेटौँडा–२ को सङ्गमचोकसहित विभिन्न मुख्य चोकमा हाइमास्ट लाइट जडान गरिएको उपमहानगरपालिकाले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा जडान गरिएका हाइमास्ट लाइट सञ्चालनमा आएपछि हेटौँडाका मुख्य चोक तथा सार्वजनिक क्षेत्र रातिको समयमा झलमल्ल देखिन थालेका छन्।
हेटौँडा उपमहानगरपालिका–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले हाइमास्ट लाइटले सुरक्षा चुनौती न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार अत्यावश्यक कामका लागि रातिको समयमा हिँडडुल गर्ने नागरिकलाई पनि यसले सहजता प्रदान गर्नेछ।
उपमहानगरले हेटौँडा बसपार्क, टोनी हेगन पार्क, न्युरेनी जाने बाटो, बस्तिपुर चौक, हात्तीगौडा चौक, पदमपोखरी चौक, बँदेलधाप चौक, मयुरधाप, गुम्बा चौक, मानवसेवा आश्रम चौक, फायरलाइन म्याजिक पार्क, कालिका टोल, प्रणामी चौक, चिसापानी चौक, हटिया चौक, फुर्केचौर चौक, चुच्चेखोला चौक, चौघडा चौक र क्याम्पडाँडा चौकलगायत स्थानमा हाइमास्ट लाइट जडान गरिसकेको जनाएको छ।
यद्यपि हुप्राचौरमा जडान गरिएका दुई वटा हाइमास्ट लाइटको सेन्सरमा प्राविधिक समस्या देखिएकाले ती हाल सञ्चालनमा आउन सकेका छैनन्। उपमहानगरले समस्या समाधानको प्रक्रिया अघि बढाएको जनाएको छ।
यससँगै हेटौँडा बजार क्षेत्रका सडकमा पोलसहित सडकबत्तीको व्यवस्था गरी शहरलाई थप उज्यालो र व्यवस्थित बनाउने अभियानलाई निरन्तरता दिएको छ।

