क्यान्सर उपचारमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ औषधिको अभाव हटाउन सहजीकरण



काठमाडौं,जेठ २९ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ औषधिको सहज उपलब्धता सुनिश्चित गर्न सहजीकरण सुरु गरेको छ।विश्वव्यापी आपूर्ति अवरोधका कारण बजारमा कार्बोप्लाटिन औषधिको अभाव देखिन थालेपछि विभागले बिरामीलाई औषधि उपलब्ध गराउन विभिन्न अस्पताल, फार्मेसी तथा आपूर्तिकर्ता संस्थालाई सम्पर्क बिन्दुका रूपमा तोकेको हो।

विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यका अनुसार जानकी अस्पताल नेपालगञ्ज, पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड, विराट मेडिकल कलेज विराटनगर, वविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्रालि भरतपुर, मल्ल फर्मास्युटिकल्स पोखरा, ताज नेपाल प्रालि काठमाडौं, डिकेएम फर्मास्युटिकल्स प्रालि काठमाडौं, सिजल फर्मा तथा अनमोल हेल्थ केयर काठमाडौंलाई औषधि उपलब्धताका लागि सम्पर्क संस्थाका रूपमा तोकिएको छ।

बज्राचार्यले बजारमा कार्बोप्लाटिनको नियमित आपूर्ति सुनिश्चित गर्न र आवश्यक समन्वयका लागि यी संस्थाहरूलाई जिम्मेवारी दिइएको बताउँदै यसबाट बिरामीलाई औषधि प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।

भक्तपुर क्यान्सर अस्पताल, भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका स्वास्थ्य संस्थामा किमोथेरापीमा प्रयोग हुने उक्त औषधिको अभाव देखिएको छ।

नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले विभागसँगको समन्वयमा अभाव भएका क्यान्सरका औषधि बिरामीसम्म पुर्‍याइने जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय बजारमा औषधिको मूल्य वृद्धि भएकाले पुरानै मूल्यमा आपूर्ति गर्न कठिनाइ उत्पन्न हुँदा आयातमा समस्या देखिएको उहाँको भनाइ छ।

उहाँले औषधिको मूल्य समायोजन भएपछि आवश्यक परिमाणमा औषधि आयात गरी आपूर्ति सहज बनाइने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्