विश्वकपमा आज दक्षिण कोरिया र चेक रिपब्लिक भिड्दै



काठमाडौं,जेठ २९ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा आज एसियाली शक्ति राष्ट्र दक्षिण कोरिया र युरोपेली टोली चेक रिपब्लिक आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार बिहान ७ः४५ बजे मेक्सिकोको ग्वाडालाजारास्थित एक्रोन स्टेडियममा खेल सुरु हुनेछ।

समूह ‘ए’ बाट आयोजक मेक्सिकोपछि नकआउट चरणमा पुग्ने प्रबल दाबेदारका रूपमा दक्षिण कोरिया र चेक रिपब्लिकलाई हेरिएको छ। फरक फुटबल शैली अपनाउने दुवै टोलीबीचको प्रतिस्पर्धाले रोमाञ्चक खेलको अपेक्षा गरिएको छ।

दक्षिण कोरिया एएफसी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार ११औँ तथा समग्रमा १२औँ पटक विश्वकपमा सहभागी भएको हो। सन् २००२ मा चौथो स्थान हासिल गर्नु उसको विश्वकप इतिहासकै उत्कृष्ट उपलब्धि हो। गत संस्करणमा भने दक्षिण कोरिया प्रिक्वाटरफाइनलबाट बाहिरिएको थियो।

यता, चेक रिपब्लिक २० वर्षपछि विश्वकपमा पुनरागमन गर्दै १०औँ पटक प्रतियोगितामा सहभागी भएको हो। दुई पटकको उपविजेता चेक रिपब्लिक बलियो रक्षापंक्ति, रणनीतिक खेल तथा सेटपिसमार्फत गोल गर्न माहिर टोलीका रूपमा परिचित छ।

विश्वकप इतिहासमा दक्षिण कोरिया र चेक रिपब्लिकबीच यो पहिलो भेट हुनेछ। यसअघि भएका तीन मैत्रीपूर्ण खेलमध्ये दुवैले एक–एक खेल जितेका छन् भने एक खेल २–२ गोलको बराबरीमा सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्