ककनीका जनप्रतिनिधि र कर्मचारीका लागि ३ दिने आईसीटी तालिम सम्पन्न
नुवाकोट,जेठ २९ । नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका लागि ३ दिने सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । ‘डिजिटल सुशासन, प्रविधिमैत्री सेवा प्रवाह तथा प्रभावकारी स्थानीय शासनतर्फ एक कदम’ भन्ने मूल नाराका साथ गाउँ कार्यपालिकाको कार्यालय, सूचना प्रविधि शाखाको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
तालिममा पालिकाका सम्पूर्ण शाखागत कर्मचारी तथा सबै वडाका वडा सचिवहरूको सहभागिता रहेको थियो । सूचना प्रविधि शाखाका प्रमुख सरोज लामाले तालिम तथा प्राविधिक विषयवस्तुका बारेमा विस्तृत जानकारी दिनुभएको थियो ।
तालिममा प्रशिक्षक नवीन श्रेष्ठले डिजिटल बैंकिङ तथा ई–सेवा जस्ता प्रविधिहरूको सुरक्षित प्रयोगबारे प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी अर्का प्रशिक्षक आभास उप्रेतीले कार्यालय सञ्चालनका क्रममा देखिने प्राविधिक समस्या समाधान, कम्प्युटर हार्डवेयर–सफ्टवेयर तथा सिस्टम बुट गर्ने जस्ता आधारभूत प्राविधिक विषयमा प्रयोगात्मक ज्ञान प्रदान गर्नुभएको थियो ।
सहभागीहरूको तर्फबाट बोल्दै शिक्षा शाखाका सहायक विद्यालय निरीक्षक महेश बडूले प्रविधिसम्बन्धी आधारभूत ज्ञान अभावका बीच तालिमले उपयोगी सिकाइ प्रदान गरेको बताउनुभयो । उहाँले यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने आवश्यकता समेत औंल्याउनुभयो ।
समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले प्रशासनिक कामलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन प्रविधिको अधिकतम प्रयोग अनिवार्य भएको बताउनुभयो । उहाँले सिकेका सीपलाई कार्यस्थलमा प्रभावकारी रूपमा लागू गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
त्यसैगरी गाउँपालिका अध्यक्ष सुमन तामाङ ‘सज्जन’ले प्रविधिको युगमा समय अनुसार आफूलाई परिवर्तन गर्दै डिजिटल सुशासनमार्फत नागरिकलाई छिटो र सहज सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।उपाध्यक्ष मिठुमाया लामाले तालिमपछि पालिकाको डिजिटल कार्यप्रणाली थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

