पुनरागमन जितसहित दक्षिण कोरियाको विजयी सुरुआत
काठमाडौं,जेठ २९ । फिफा विश्वकप २०२६ मा दक्षिण कोरियाले विजयी सुरुआत गरेको छ। समूह ‘ए’ अन्तर्गत भएको खेलमा पछि परेको अवस्था उल्टाउँदै दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले पराजित गरेको हो।
दक्षिण कोरियाले खेलभरि आक्रामक प्रदर्शन गर्दै चेकियामाथि निरन्तर दबाब बनाएको थियो। पहिलो हाफमा दक्षिण कोरियाले आठ पटक प्रहार गर्दा पाँच प्रहार कप्तान सन ह्युङ–मिनले गरेका थिए। तर चेकियाका गोलरक्षक मातेय कोभारले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राखे।
दक्षिण कोरियाको निरन्तर दबाबका बाबजुद चेकियाले ५९औँ मिनेटमा अग्रता लियो। भ्लादिमिर कुफालको लामो थ्रोमा कप्तान लाडिस्लाभ क्रेइचीले हेडमार्फत गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। तर दक्षिण कोरियाले आठ मिनेटमै खेल बराबरीमा ल्यायो। ली काङ–इनको पासमा ह्वाङ इन–बोमले आकर्षक गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याए।
७८औँ मिनेटमा टोमास सौचेकले गरेको हेडर गोल भिडियो सहायक रेफ्रीको समीक्षापछि अफसाइड ठहरिएपछि दक्षिण कोरियाले राहत पाएको थियो। त्यसको दुई मिनेटपछि दक्षिण कोरियाले खेल पल्टायो। ह्वाङको क्रसमा वैकल्पिक खेलाडी ओ ह्योन–ग्युले सहज गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए, जुन अन्ततः निर्णायक गोल सावित भयो।
खेलको अन्त्यतिर गोलरक्षक किम सुङ–ग्यु दक्षिण कोरियाका नायक बने। उनले ८२औँ मिनेटमा आदाम ह्लोजेकको प्रहार रोके भने अतिरिक्त समयमा मिखाल सादिलेकको प्रयास विफल पार्दै टोलीको जित सुरक्षित गरे।
यो जितसँगै दक्षिण कोरियाले लगातार चार संस्करणपछि पहिलो पटक विश्वकप अभियान विजयी सुरुआत गरेको छ। अब चेकियाले जुन १८ मा दक्षिण अफ्रिकासँग खेल्नेछ भने दक्षिण कोरियाले जुन १९ मा सह–आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ। मेक्सिकोले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको थियो।

