हिजो एकै दिन देशभरका सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाए
काठमाडौं,जेठ २९ । देशका विभिन्न जिल्लामा बिहीबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार रोल्पा, नवलपरासी (पूर्व), काठमाडौं, रुपन्देही, मुस्ताङ र कास्कीमा भएका दुर्घटनामा ६ जनाले ज्यान गुमाएका हुन्।
रोल्पाको माडी गाउँपालिका–१ पात्लेमा सडक भासिएर मिनी ट्रक करिब ३० मिटर तल खस्दा सल्यान बागचौर नगरपालिका–४ का ४७ वर्षीय चन्द्रबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको छ।
नवलपरासी (पूर्व) को कावासोती नगरपालिका–१५ मा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी ५१ वर्षीया तुलसीमाया श्रेष्ठको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
काठमाडौंको बल्खुमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार ललितपुर लुभुकी ३५ वर्षीया पुष्पा खड्का कुँवरको मृत्यु भएको छ।
रुपन्देहीको बुटवलमा ट्रकले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा घाइते भएकी २६ वर्षीया सुनिता थारूको उपचारका क्रममा मृत्यु भएको छ।
मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडकखण्डमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक २८ वर्षीय प्रणाम थकालीको उपचारका क्रममा मृत्यु भएको छ।
त्यसैगरी, कास्कीको पोखरा–३१ पचभैयामा कार अनियन्त्रित भई दुर्घटना हुँदा पूर्व बैङ्कर ६५ वर्षीय रेशमबहादुर थापाको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

