च्याउ टिप्न गएका दुई महिलाको नदीमा बगेर मृत्यु
कैलाली,जेठ २९ । कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार नदी तर्ने क्रममा बाढीले बगाउँदा स्थानीय ४० वर्षीया कल्पना साउँद र ५५ वर्षीया महेश्वरी धमलाको ज्यान गएको हो। दुवै जनाको शव गोदावरीस्थित आर्यघाट नजिक फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक हिरासिंह महराका अनुसार च्याउ टिप्न भन्दै बिहानै घरबाट निस्केका उनीहरू खोला तर्ने क्रममा बाढीमा परेका थिए। चुरे क्षेत्रमा परेको वर्षाका कारण गोदावरी नदीमा अचानक बाढी आएको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

