चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल



काठमाडौँ,जेठ २९ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि यही जेठ ३१ गते चीनको बेइजिङ प्रस्थान गर्ने हुनुभएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुहुनेछ। सम्मेलनमार्फत नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने विषयमा छलफल गरिनेछ भने उहाँले चिनियाँ उद्यमी तथा व्यवसायीसँग पनि भेटघाट गर्नुहुनेछ।

परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले स्वागत समारोह आयोजना गर्नेछ। उक्त कार्यक्रममा उहाँले चीनस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्