फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा प्राविधिक समस्या, प्रयोगकर्ता प्रभावित
काठमाडौँ, जेठ २९ — सामाजिक सञ्जालका प्रमुख माध्यम फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा शुक्रबार साँझदेखि एक्कासि प्राविधिक समस्या देखिएको छ। समस्याका कारण नेपालसहित विभिन्न स्थानका प्रयोगकर्ताहरू प्रभावित भएका छन्।
प्रयोगकर्ताहरूका अनुसार सेवा प्रयोग गरिरहेकै बेला अकाउन्ट स्वतः लगआउट हुने, फेसबुक तथा इन्स्टाग्रामको फिड लोड नहुने, मेसेज पठाउन नसकिने तथा लगइन गर्ने प्रयास गर्दा “समथिङ वेन्ट रङ” भन्ने सन्देश देखिने समस्या आएको छ।
यसका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सेवा उपयोगमा कठिनाइ भोगिरहेका छन्। हालसम्म यी प्लेटफर्म सञ्चालन गर्ने मेटा डटकम (meta.com) कम्पनीले समस्याबारे कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
समस्याको वास्तविक कारण पनि अहिलेसम्म खुल्न सकेको छैन। प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको अनुमान गरिए पनि कम्पनीले औपचारिक जानकारी नदिएकाले प्रयोगकर्ताहरू अन्योलमा रहेका छन्।

