काम छिटो हुँदा सेवाग्राही खुसी, यातायात कार्यालयको सेवा प्रभावकारी
काठमाडौँ, जेठ ३० । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयहरूको सेवा प्रवाहमा उल्लेखनीय सुधार आएपछि सेवाग्राहीहरू खुसी भएका छन्। लाइसेन्स वितरण, नवीकरण तथा वर्ग थपजस्ता सेवाहरू छिटो र सहज रूपमा उपलब्ध हुन थालेका छन्।
यातायात व्यवस्था कार्यालय चावहिल, एकान्तकुना र राधेराधेले अनलाइन प्रणाली, अतिरिक्त कर्मचारी परिचालन तथा बिदाका दिनसमेत सेवा सञ्चालन गर्दै सेवाग्राहीको सास्ती घटाएका छन्।कार्यालयहरूले २० देखि ३० मिनेटभित्रै सेवा प्रदान गरिरहेको जनाएका छन्।
सेवाग्राहीहरूले विगतको ढिलासुस्ती, लामो लाइन र बिचौलियाको समस्या हट्दै गएको भन्दै सन्तुष्टि व्यक्त गरेका छन्। कार्यालय प्रमुखहरूका अनुसार कागजरहित प्रणाली, सिसिटिभी निगरानी र सेवा व्यवस्थापन सुधारका कारण सेवा प्रवाह थप प्रभावकारी बनेको हो।

