कोशीसहित पहाडी क्षेत्रमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं,जेठ ३० । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि जारी रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू–भागमा सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान पनि गरिएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने मधेशसहित अन्य क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले विशेषगरी कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

