फिफा विश्वकप–२०२६ : पाराग्वेमाथि अमेरिकाको शानदार जित



एजेन्सी,जेठ ३० । आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ। लस एन्जलसस्थित स्टेडियममा आज बिहान सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गरेको हो।

अमेरिकाको जितमा फोलारिन बालोगुनले दुई गोल गरे भने जियोभानी रेयनाले एक गोल थपे। अमेरिकाले एक गोल आत्मघाती उपहारका रूपमा पनि पाएको थियो। पाराग्वेका मौरिसियोले सान्त्वना गोल फर्काए।

खेलको सातौँ मिनेटमै अमेरिकाले आत्मघाती गोलमार्फत अग्रता बनाएको थियो। वेस्टन म्याकेनीको प्रहार रोक्ने प्रयासमा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाबाट बल आफ्नै पोस्टमा छिरेपछि अमेरिका अघि बढेको हो।

त्यसपछि ३१औँ मिनेटमा बालोगुनले गोल गर्दै अग्रता दोब्बर बनाए।पहिलो हाफको इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकालाई ३–० को मजबुत अवस्थामा पुर्‍याए। ७१औँ मिनेटमा पाराग्वेका मौरिसियोले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि सफल हुन सकेनन्।

दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रेयनाले गोल गर्दै अमेरिकाको ४–१ को सहज जित सुनिश्चित गरे। यस जितसँगै अमेरिकाले समूह ‘डी’ मा तीन अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको छ। उक्त समूहमा अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन्।

यसअघि आजै भएको अर्को खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ गोलको बराबरी खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्