काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति कोटामा ३ हजारभन्दा बढी विद्यार्थी भर्ना



काठमाडौं,जेठ ३० । काठमाडौँ महानगरपालिकाभित्र कक्षा ११ र १२ का लागि सञ्चालन गरिएको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ् सूचीबाट तीन हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका छन्।

शैक्षिक सत्र २०८३/०८४ का लागि छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीमध्ये छनोट परीक्षाको अन्तिम योग्यताक्रम सूचीका आधारमा तीन हजार ७३५ जना विद्यार्थी पहिलो म्याचिङ् सूचीमा परेका थिए। कामपा शिक्षा अधिकृत तथा परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार तीमध्ये तीन हजार ५१ जना विद्यार्थीले भर्ना प्रक्रिया पूरा गरेका छन्।

भर्ना भएका विद्यार्थीमध्ये विज्ञान विषयमा एक हजार ९०१, व्यवस्थापनमा एक हजार १११, कानुनमा ३४ र मानविकीमा पाँच जना रहेका छन्। विद्यालयहरूले भर्ना विवरण सफ्टवेयरमा अद्यावधिक गरेपछि रिक्त रहेका सिटका आधारमा परीक्षा समितिले दोस्रो म्याचिङ् सूची सार्वजनिक गरेको छ।

दोस्रो सूचीमा कुल ४८६ जना विद्यार्थीको नाम सिफारिस गरिएको छ। यसमध्ये विज्ञानमा ३२३, व्यवस्थापनमा १४५, कानुनमा १५, मानविकीमा एक तथा शिक्षाशास्त्रमा दुई जना विद्यार्थी रहेका छन्।
विद्यार्थीले आवेदनका क्रममा छनोट गरेको विषय र शिक्षण संस्थाको प्राथमिकताका आधारमा साधारण तथा आरक्षण समूहअन्तर्गत उपलब्ध सिट संख्या अनुसार सूची प्रकाशन गरिएको समितिले जनाएको छ।

दोस्रो सूचीमा नाम परेका विद्यार्थीले छात्रवृत्ति पोर्टलमार्फत मनोनयन पत्र प्रिन्ट गरी असार ३ गतेभित्र सम्बन्धित शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना हुनुपर्नेछ। तोकिएको समयभित्र भर्ना नभए छात्रवृत्तिको दाबी स्वतः रद्द हुने जनाइएको छ।

यस वर्ष महानगरले १४५ वटा शिक्षण संस्थाका लागि कुल चार हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरेको छ। जसमा विज्ञानतर्फ दुई हजार ३७१, व्यवस्थापनतर्फ एक हजार ५४९, शिक्षातर्फ सात, मानविकीतर्फ ४९ र कानुनतर्फ ७५ कोटा छुट्याइएको छ।

छात्रवृत्ति छनोट परीक्षा जेठ १७ गते सञ्चालन गरिएको थियो।परीक्षाको प्रारम्भिक नतिजा जेठ १८ गते र अन्तिम योग्यताक्रम सूची जेठ २१ गते प्रकाशित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्