रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित



गण्डकी,जेठ ३० । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समितिको सभापतिमा कास्कीका नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ। पोखरामा सम्पन्न प्रथम प्रदेश अधिवेशनअन्तर्गत शुक्रबार राति भएको मतदानको मतगणना शनिबार बिहान सकिँदा त्रिपाठी २३४ मतसहित विजयी हुनुभएको हो।

निर्वाचन समितिका संयोजक डा. राम गुरुङका अनुसार रास्वपाको विधानअनुसार सभापति निर्वाचित हुन कुल मतदानको ५१ प्रतिशत मत आवश्यक पर्ने व्यवस्था रहेकोमा त्रिपाठीले पहिलो चरणमै आवश्यक मत प्राप्त गर्नुभएको हो। उहाँ प्रदेश समितिका निवर्तमान महामन्त्री समेत हुनुहुन्छ।

सभापतिका अन्य प्रत्याशीमध्ये निवर्तमान सभापति तथा राजन गौतम ले १८२ मत, माधव कँडेलले ११ मत र डा. हरि कार्कीले २ मत प्राप्त गर्नुभएको थियो। अधिवेशनमा ७८० प्रतिनिधि रहेकामा ४३७ जनाले मतदानमा सहभागिता जनाएका थिए।

प्रदेश समितिका सदस्य पदका लागि ५१ जनाको उम्मेदवारी परेको थियो, जसमध्ये विभिन्न क्लस्टरसहित ३३ जना निर्वाचित हुनेछन्। प्रदेश सदस्यतर्फ १२ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
निर्विरोध निर्वाचित हुनेहरूमा बागलुङ–१ की मीना शर्मा आचार्य, गोरखा–१ का मनोज गुरुङ, गोरखा–२ का बलबहादुर घले, लमजुङका विजय पराजुली, म्याग्दीका ताराबहादुर कार्की तथा तनहुँ–१ का सूर्यमणि पौडेल रहेका छन्।

त्यसैगरी समावेशी सदस्यतर्फ खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी, मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा तथा अपाङ्गता भएका खसआर्य समूहबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएका छन्।

रास्वपा गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन शुक्रबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्