तनहुँका दुई सामुदायिक वनमा रुद्राक्ष पकेट क्षेत्र बनाइने
तनहुँ,जेठ ३० । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी र करादिन सामुदायिक वनमा रुद्राक्ष पकेट क्षेत्र निर्माण गरिने भएको छ। अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि डिभिजन वन कार्यालय तनहुँले तीन हेक्टर क्षेत्रफलमा रुद्राक्ष खेती विस्तार गर्ने योजना अघि बढाएको हो।
प्रमुख डिभिजन वन अधिकृत मनोज रानाभाटका अनुसार दुवै सामुदायिक वनमा करिब तीन हजार रुद्राक्षका बिरुवा रोपण गरिनेछ।उहाँले तनहुँमा पहिलो पटक ठूलो परिमाणमा रुद्राक्ष रोप्न लागिएको बताउँदै यस क्षेत्रलाई भविष्यमा धार्मिक वनका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।
वन अधिकृत अरुण पराजुलीका अनुसार जिल्लाका पहाडी क्षेत्रमा परीक्षणका रूपमा गरिएको रुद्राक्ष खेती सफल भएपछि योजनाबद्ध रूपमा विस्तार गर्न लागिएको हो। प्रारम्भिक चरणमा यी दुई वनमा खेती विस्तार गरिने र क्रमशः अन्य सामुदायिक वन उपभोक्ता समूहमा समेत कार्यक्रम विस्तार गर्ने तयारी गरिएको छ।
डिभिजन वन कार्यालयका अनुसार रुद्राक्ष खेतीबाट वन संरक्षणसँगै स्थानीय आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ। परम्परागत रूपमा दाउरा र घाँसमा केन्द्रित सामुदायिक वन व्यवस्थापनलाई आयमूलक वन उपज उत्पादनतर्फ उन्मुख बनाउन रुद्राक्ष खेती सहयोगी बन्ने विश्वास गरिएको छ।
प्राविधिकहरूले रुद्राक्षका वृक्षले माटो क्षय नियन्त्रण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सुधारमा समेत योगदान पुर्याउने बताएका छन्। हिन्दू धर्ममा पवित्र मानिने रुद्राक्ष धार्मिक, आध्यात्मिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण मानिन्छ। नेपालको पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुने रुद्राक्ष धार्मिक पर्यटन र व्यापारसँग समेत जोडिएको छ।

