संरचना र प्राविधिक जनशक्ति अभावमा करोडौँका डायलासिस मेसिन प्रयोगविहीन



नवलपरासी,जेठ ३० । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भौतिक संरचना, आर्थिक स्रोत तथा प्राविधिक जनशक्तिको अभावका कारण करोडौँ रुपैयाँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन बनेका छन्। विभिन्न दातृ निकाय र नेपाल सरकारमार्फत स्थानीय तह तथा अस्पताललाई उपलब्ध गराइएका मेसिन सञ्चालनमा आउन नसक्दा मिर्गौला रोगीले अपेक्षित सेवा पाउन सकेका छैनन्।

नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलिखेलले विसं २०८१ मा बर्दघाट नगरपालिका–१४ स्थित सहिद स्मृति अस्पताललाई उपलब्ध गराएको रु एक करोड २० लाख मूल्य बराबरका छ वटा डायलासिस मेसिन हालसम्म सञ्चालनमा आउन सकेका छैनन्। आवश्यक संरचना तथा आर्थिक स्रोतको अभावका कारण मेसिन प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डिबीबहादुर थापाले लामो समयदेखि मेसिन सञ्चालन हुन नसक्दा स्थानीय बिरामीले सेवा पाउन नसकेको बताउनुभयो।

त्यसैगरी, बुटवलस्थित मुटु अस्पतालले केही महिनाअघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको रु साढे आठ करोड बराबरका पाँच वटा डायलासिस मेसिन पनि प्रयोगविहीन अवस्थामा छन्। नगरको आफ्नै अस्पताल सञ्चालनमा नआएकाले ती मेसिन प्रयोगमा ल्याउन नसकिएको हो। सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले आर्थिक तथा प्राविधिक अभावका कारण सेवा सुरु गर्न नसकिएको बताउनुभयो। हाल सुनवलमा १५ शय्याको अस्पताल निर्माणाधीन रहेको छ।

यता रामग्रामस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा रहेका पाँच वटा डायलासिस मेसिनमार्फत दैनिक १७ जना बिरामीले सेवा लिइरहेका छन्। तर बिरामीको चाप अत्यधिक भएकाले सबैलाई सेवा दिन कठिन भइरहेको अस्पतालले जनाएको छ। अस्पताल व्यवस्थापक सिमा काफ्लेका अनुसार जिल्लाका अन्य स्थानमा रहेका प्रयोगविहीन मेसिन सञ्चालनमा आए मिर्गौला रोगीलाई उपचार सेवा सहज हुने र जिल्ला बाहिर जानुपर्ने बाध्यता समेत कम हुने छ।

प्रतिक्रिया दिनुहोस्