असममा भारतीय वायुसेनाको विमान दुर्घटना, पाइलटसहित पाँच जनाको मृत्यु



भारत,जेठ ३० । भारतको असम राज्यस्थित जोरहाटको रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भारतीय वायुसेनाको एएन–३२ विमान दुर्घटनाग्रस्त हुँदा पाइलटसहित पाँच जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमको मृत्यु भएको हो। दुर्घटनामा एक सह–पाइलट घाइते भएका छन्।

भारतीय वायुसेनाले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनामा ज्यान गुमाएका पाँच कर्मचारीप्रति गहिरो समवेदना व्यक्त गरेको छ। वायुसेना बेसमा अवतरण गर्ने प्रयासका क्रममा विमान दुर्घटनाग्रस्त भएको बताइएको छ। दुर्घटनापछि विमान दुई टुक्रामा विभाजित भएको थियो भने घटनास्थलमा आगलागीसमेत भएको थियो।

भारतीय वायुसेनाका अनुसार सेना तथा सामग्री ढुवानीका लागि प्रयोग हुने उक्त एएन–३२ विमान नियमित उडानमा रहेको बेला दुर्घटनामा परेको हो। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्