देशलाई माया गरेकै कारण गाली खानुपरेको छ : हर्कराज राई
काठमाडौँ, जेठ ३० — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देशको हितका लागि आवाज उठाउँदा आफूले निरन्तर अपमान र गाली सहनुपरेको बताएका छन्।
शनिवार काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै अध्यक्ष राईले देशप्रतिको आफ्नो माया र समर्पणका कारण आफू आलोचनाको निशानामा परेको दाबी गरे। उनले धरानको मेयर रहँदा दैनिक हजारौँ गाली आउने गरेको स्मरण गर्दै हाल सामाजिक सञ्जालमार्फत दिनहुँ करिब १० हजार गाली प्राप्त हुने गरेको बताए।
“संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने मान्छे म हुँ। मैले यो देशलाई बिछट्टै माया गरेकाले गाली खाइराखेको छु। अहिले मैले दिनको १० हजार वटा गाली पाइराखेको छु,” उनले भने।
राईले दार्चुलामा पुल निर्माणका क्रममा पनि आफूविरुद्ध आलोचना भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा संगठित रूपमा गाली अभियान सञ्चालन भइरहेको आशंका व्यक्त गरे। नेपाली समाजमा अरूले गरेको राम्रो कामको प्रशंसा गर्नुभन्दा खुट्टा तान्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै उनले यस्तो मानसिकताको अन्त्य नभएसम्म देशले अपेक्षित प्रगति गर्न नसक्ने बताए।
उनले प्रधानमन्त्री बालेन्द्र साह को अभिव्यक्तिका कारण सुस्तामा भारतीय सेना प्रवेश गरेको आरोपसमेत लगाए। सीमा सुरक्षाजस्ता संवेदनशील विषयमा राज्य गम्भीर हुनुपर्नेमा उनले जोड दिए।
अध्यक्ष राईले विदेशी ऋणमा आधारित विकास मोडेलभन्दा स्वदेशी स्रोत, साधन र श्रममा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने धारणा राखे।साथै, श्रम संस्कृति पार्टीका कुनै पनि सांसदले भ्रष्टाचार नगर्ने दाबी गर्दै पार्टी संगठनलाई देशव्यापी रूपमा विस्तार गर्ने र आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई विजयी गराउन कार्यकर्तासँग आग्रह गरे।

