काभ्रे बस दुर्घटनाः छानबिन समिति गठन, मृतक आठै जनाको सनाखत



काभ्रेपलान्चोक,जेठ ३० । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन नेपाल प्रहरीले छ सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा समिति गठन गरेको जनाएको छ। समितिलाई दुर्घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्षको पहिचान गरी सत्यतथ्य छानबिन गरेर सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२ स्थित बुच्चाकोटको सेल्फीडाँडाबाट करिब ३०० मिटर तल खस्दा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन्। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा रोशी गाउँपालिका–६ का ७३ वर्षीय मेघबहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङ, रोशी–७ की ३४ वर्षीया फूलमाया तामाङ र ६० वर्षीया माया तामाङ, रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङ, दैलेख घर भई त्रिनेत्र दल गण भकुण्डेवेँशीमा कार्यरत नेपाली सेनाका ३० वर्षीय अमलदार बमबहादुर भण्डारी तथा सिन्धुलीको घ्याङ्लेक गाउँपालिका–४ निवासी २२ वर्षीय सुमी तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार दुर्घटनास्थलबाट आठै जनाको शव निकालिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको तथा मृतकका आफन्तसँग सम्पर्क गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्