कला, साहित्य र संस्कृतिबिनाको समृद्धि अपूरो हुन्छ : सञ्चारमन्त्री तिमिल्सिना



काठमाडौं,जेठ ३० । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले कला, साहित्य, भाषा र संस्कृति राष्ट्रको शक्ति तथा पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवर्द्धनबिनाको समृद्धि अपूरो रहने बताउनुभएको छ।

गोरखापत्र संस्थान द्वारा आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले मुलुकको भौतिक पूर्वाधार र आर्थिक विकाससँगै भाषा, साहित्य र संस्कृतिको समानान्तर विकास आवश्यक रहेको बताउनुभयो। उहाँले कला र साहित्य राष्ट्रको बल र पहिचान भएको उल्लेख गर्दै साहित्य संरक्षणका लागि सरकारले गम्भीर रूपमा सोच्नुपर्ने समय आएको धारणा राख्नुभयो।

सामाजिक सञ्जाल साहित्यिक अभिव्यक्तिको प्रभावकारी माध्यमका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै उहाँले बदलिँदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुल्दै गएको बताउनुभयो। साहित्य क्षेत्रको दीर्घकालीन विकासका लागि दिगो र नतिजामुखी नीतिगत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले राजनीतिक क्षेत्रले साहित्य र कलालाई अपेक्षित प्राथमिकता दिन नसकेको स्वीकार गर्दै साहित्यले समाज, मानव संवेदना र जीवनका विविध पक्ष बुझ्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले साहित्यिक चेत र अध्ययनले अन्य क्षेत्रमा काम गर्दा समेत मार्गदर्शन गर्ने अनुभव सुनाउनुभयो।

सरकारी तथा सार्वजनिक सञ्चार संस्था, साहित्यिक र सांस्कृतिक संस्थाहरू आर्थिक रूपमा कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले ती संस्थालाई नयाँ जीवन दिन र आर्थिक रूपमा सबल बनाउन आवश्यक रहेको बताउनुभयो। समस्यामा परेका संस्थाहरूले केवल अतिरिक्त बजेटको अपेक्षा गरेर मात्र सबल बन्न नसक्ने भन्दै उहाँले व्यवस्थापन, कार्यशैली र उत्तरदायित्वमा सुधार आवश्यक रहेको धारणा राख्नुभयो।

उहाँले विगतमा सरकारी संस्थानलाई राजनीतिक भर्ती केन्द्रका रूपमा प्रयोग गरिएकाले धेरै संस्था कमजोर बनेको उल्लेख गर्दै सुधारका लागि सरकार स्पष्ट मार्गचित्रसहित अघि बढिरहेको बताउनुभयो। साथै गोरखापत्र संस्थानलाई अझ व्यावसायिक, प्रतिस्पर्धी र प्रभावशाली संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको र सञ्चारमाध्यमलाई प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापन नरोकिएको स्पष्ट पार्नुभयो।

कार्यक्रममा ‘मधुपर्क सम्मान–२०८३’ अन्तर्गत पद्यतर्फ यादव खरेल, गद्यतर्फ भाउपन्थी तथा ‘मधुपर्क प्रतिभा सम्मान’बाट डा. गीता त्रिपाठी सम्मानित हुनुभयो। सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्रसहित रु ५० हजार नगद प्रदान गरिएको थियो। साथै मधुपर्कका पूर्वसम्पादक कपिल घिमिरे लाई पनि सम्मान गरिएको थियो।

सम्मानित साहित्यकारहरूले सूचना प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै पठन संस्कृतिमा ह्रास आउन थालेको चिन्ता व्यक्त गर्दै साहित्य सिर्जना, प्रकाशन र प्रवर्द्धनका लागि राज्यको लगानी तथा संरक्षण आवश्यक रहेकोमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्