नुवाकोटको बेलकोटगढीमा विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षलाई कानुनी शिक्षा
नुवाकोट, जेठ ३०— बेलकोटगढी नगरपालिकाको न्यायिक समितिको आयोजनामा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूका लागि दुईदिने कानुनी शिक्षा कार्यक्रम सम्पन्न भएको छ।
जेठ २८ र २९ गते सञ्चालन गरिएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन, शैक्षिक प्रशासन, कानुनी दायित्व तथा विद्यालय सञ्चालनसँग सम्बन्धित विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगतबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने न्यायिक समितिका संयोजक एवं उपप्रमुख शिवप्रसाद दाहालको समेत सहभागिता रहेको थियो।
नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा विद्यालय प्रशासनसँग सम्बन्धित कानुनी व्यवस्था, अधिकार, कर्तव्य तथा जिम्मेवारीबारे प्रशिक्षण प्रदान गरिएको थियो।
सहभागीहरूले कार्यक्रमबाट विद्यालय सञ्चालन तथा व्यवस्थापनका कानुनी पक्षबारे थप जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका छन्।बेलकोटगढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधारसँगै विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी, उत्तरदायी र कानुनी रूपमा सुदृढ बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

