नुवाकोट रिभरसाइड पार्क पर्यापर्यटनको आकर्षक गन्तव्य बन्दै



नुवाकोट, जेठ ३० – नुवाकोटको विदुर नगरपालिका–१० भैसेँस्थित त्रिशूली नदी किनारमा निर्माणाधीन ‘नुवाकोट रिभरसाइड पार्क’ पर्यापर्यटन प्रवर्द्धनको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

विदुर नगरपालिकाको अगुवाइमा संघ, प्रदेश तथा स्थानीय तहबीचको सहकार्य र स्थानीयबासीहरूको उल्लेखनीय श्रमदानबाट पार्क निर्माणको कार्य तीव्र रूपमा अघि बढिरहेको हो । वर्षौंदेखि बाँझो तथा उपयोगविहीन अवस्थामा रहेको जग्गालाई संरक्षण गर्दै निर्माण गरिएको पार्कले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा आन्तरिक पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पार्कलाई अझ व्यवस्थित, आकर्षक र पर्यटकमैत्री बनाउने उद्देश्यले विभिन्न पूर्वाधार निर्माण, वृक्षारोपण तथा सौन्दर्यकरणका कार्यहरू निरन्तर सञ्चालन भइरहेका छन्। स्थानीय समुदायको सक्रिय सहभागिताले पार्क निर्माण अभियानलाई थप प्रभावकारी बनाएको छ।

त्रिशूली नदीको मनोरम दृश्य, प्राकृतिक सौन्दर्य र हरियाली वातावरणले भरिपूर्ण नुवाकोट रिभरसाइड पार्क आगामी दिनमा जिल्लाकै प्रमुख पर्यटकीय आकर्षणका रूपमा स्थापित हुने विश्वास गरिएको छ। पार्क निर्माणले पर्यावरण संरक्षणसँगै स्थानीय आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्