अमेरिका–इरान सम्झौता नजिक, युद्ध अन्त्यको आशा बढ्यो
तेहरान,जेठ ३० । अमेरिका र इरानबीच महिनौँदेखि जारी तनाव अन्त्य गर्ने सम्भावित सम्झौता अन्तिम चरणमा पुगेको दुवै पक्षले संकेत गरेका छन्। इरानी विदेशमन्त्री अब्बास अराघचीले दुई देश सम्झौताका लागि अहिलेसम्मकै सबैभन्दा नजिक पुगेको बताउनुभएको छ भने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौतामा हस्ताक्षर हुन अन्तिम कागजी प्रक्रिया मात्र बाँकी रहेको जनाउनुभएको छ।
पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै दुवै पक्षबीच सहमति नजिक पुगेको पुष्टि गरेको छ। प्रस्तावित समझदारीमा प्रतिबन्ध खुकुलो पार्ने, इरानको रोक्का सम्पत्तिमा पहुँच दिने तथा क्षेत्रीय तनाव कम गर्ने विषय समेटिएको बताइएको छ।
यद्यपि, इरानी विदेशमन्त्री अराघचीले मिडियामा सार्वजनिक भएका १४ बुँदे समझदारी पत्रका विवरणहरू वास्तविक सहमतिसँग मेल नखाने भन्दै अन्तिम निर्णय नभएसम्म अनुमान नगर्न आग्रह गर्नुभएको छ।

