रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, नुवाकोटका लामिछाने २ मतले पराजित



काठमाडौं,जेठ ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश समितिको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ।अधिवेशनबाट हेटौंडाका उत्सव अर्याल बागमती प्रदेश सभापतिमा निर्वाचित भएका छन्।

विद्युतीय उपकरणमार्फत सम्पन्न मतदानमा अर्यालले ४१६ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नुवाकोटका डा. अच्युतम लामिछानेले ४१४ मत प्राप्त गरे। अर्यालले लामिछानेलाई मात्र २ मतको झिनो अन्तरले पराजित गरेका हुन्।

नवनिर्वाचित सभापति अर्याल यसअघि रास्वपा बागमती प्रदेशका प्रवक्ताको जिम्मेवारीमा रहेका थिए। पराजित लामिछाने नुवाकोट–२ का प्रतिनिधिसभा सदस्यसमेत हुन् भने उनी यसअघि बागमती प्रदेश सभापतिको भूमिकामा थिए।

अधिवेशनबाट सुरेन्द्र भट्ट उपसभापति, मेनुका ठकुरी महामन्त्री तथा स्वस्तिका लामिछाने र मिनप्रसाद गैरे सहमहामन्त्रीमा निर्वाचित भएका छन्। त्यसैगरी नुवाकोटका शिव थापा निर्विरोध प्रदेश सदस्य तथा सुफल थपलिया खुला तर्फबाट प्रदेश सदस्यमा निर्वाचित भएका छन्।

नयाँ नेतृत्व चयन भएसँगै रास्वपा नुवाकोटका सभापति रामेश्वर गजुरेलले निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्