एक दर्जन परियोजनाको अध्ययनका लागि ६७ करोड बजेट, छहरे-टोखा सुरुङ्गमार्गका लागि ११ लाख
काठमाडौं,जेठ ३१। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सडक पूर्वाधारलाई आधुनिक र दिगो बनाउने लक्ष्यसहित सुरुङमार्ग विकासलाई प्राथमिकतामा राखेको छ। पूर्वाधार विकास मन्त्रालयले एक दर्जनभन्दा बढी सुरुङमार्ग परियोजनाको सम्भाव्यता अध्ययन तथा निर्माणका लागि ६७ करोड १ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।
मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअनुसार हाल निर्माणाधीन सिद्धबाबा सुरुङमार्गका लागि मात्रै ५० करोड रुपैयाँ छुट्याइएको छ। यो परियोजना सम्पन्न भएपछि बुटवल–पाल्पा सडकखण्डको जोखिमपूर्ण यात्रा सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।
सहरी क्षेत्रमा बढ्दो सवारी चाप व्यवस्थापन गर्न ग्वार्को–सातदोबाटो–एकान्तकुना फ्लाइओभर निर्माणका लागि १२ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस्तै, सुरुङमार्ग विकास कार्यक्रम सञ्चालनका लागि थप ३ करोड ७७ लाख ८० हजार रुपैयाँ छुट्याइएको छ।
सरकारले नयाँ सुरुङमार्गहरूको सम्भाव्यता अध्ययनलाई समेत निरन्तरता दिएको छ। टोखा–छहरे–गुर्जु भञ्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार रुपैयाँ विनियोजन गरिएको छ भने विभिन्न प्रस्तावित सुरुङमार्गहरूको अध्ययनका लागि १ लाख ९० हजार रुपैयाँ छुट्याइएको छ।
क्षेत्रीय सन्तुलन र यातायात सञ्जाल विस्तारलाई ध्यानमा राख्दै सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययनका लागि ५ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यसैगरी दोलालघाट–चर्नावती सुरुङमार्गका लागि १८ लाख ९० हजार, हात्तीसार–बबई सुरुङमार्गका लागि ७ लाख ५६ हजार तथा खुर्कोट–चियाबारी, शिवपुर–भालुवाङ र रानीघाट–भुरीगाउँ सुरुङमार्गहरूको अध्ययनका लागि जनही ३ लाख ९२ हजार रुपैयाँ छुट्याइएको छ।
नेपालमा सडक सञ्जाल विस्तारसँगै सुरक्षित, छोटो र द्रुत यात्राको आवश्यकता बढ्दै गएको अवस्थामा सुरुङमार्गलाई दीर्घकालीन समाधानका रूपमा हेरिएको छ। विशेषज्ञहरूका अनुसार सुरुङमार्ग निर्माणले दुर्गम भूभागमा यातायात पहुँच विस्तार गर्नुका साथै यात्रा समय, इन्धन खर्च र दुर्घटनाको जोखिम समेत घटाउन मद्दत पुर्याउनेछ।
सरकारले आगामी वर्ष सुरुङमार्ग अध्ययन र निर्माणलाई प्राथमिकता दिएसँगै नेपालको यातायात पूर्वाधार आधुनिक प्रविधितर्फ उन्मुख हुने संकेत देखिएको छ।

