राजनीतिलाई सेवाको प्रतीक बनाउनुपर्ने आवश्यकता : गगन थापा



काठमाडौं,जेठ ३१ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले राजनीतिलाई वास्तविक अर्थमा सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउनुभएको छ।

काठमाडौँ महानगरपालिका–८ द्वारा सामाजिक सेवामा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले विभिन्न क्षेत्रका सम्मानित व्यक्तित्वहरूले आफ्नो पेसा र क्षेत्रको विकाससँगै लोकतन्त्रको जग मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो। उहाँले राजनीति जनसेवा र उत्तरदायित्वको माध्यम बन्नुपर्नेमा जोड दिँदै सबैले सकारात्मक परिवर्तनका लागि आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झा ले सम्मान ग्रहण गर्दै वडा कार्यालय नागरिकको सुख–दुःखको साझेदार संस्था हुनुपर्ने बताउनुभयो। उहाँले सक्रिय जीवनपछि घरमै सीमित भएका व्यक्तित्वहरूलाई सार्वजनिक रूपमा सम्मान गरेर वडाले उदाहरणीय काम गरेको उल्लेख गर्नुभयो।

वडाध्यक्ष तथा काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत ले समाजको विकासका लागि प्रतिशोध होइन, स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको बताउनुभयो। सबै क्षेत्रका योगदानशील व्यक्तित्वहरू एउटै वडामा हुनु गौरवको विषय भएको उहाँको भनाइ थियो।

कार्यक्रममा ज्येष्ठ नागरिक, राष्ट्रसेवक कर्मचारी, खेलकर्मी, संस्कृतिकर्मी, समाजसेवी, कलाकार, साहित्यकार, स्वास्थ्यकर्मी तथा उद्यमी व्यवसायीलगायत विभिन्न क्षेत्रका करिब ७० जना व्यक्तित्वलाई सम्मान गरिएको थियो। ज्येष्ठ नागरिकतर्फ रत्नमान श्रेष्ठ, शारदामान राजभण्डारी, हिराबाबा श्रेष्ठ, ठूली सिलवाल, आशामरू सङ्गत, रामप्रसाद चौलागाईं र गणेश महर्जन सम्मानित भए।

त्यस्तै राष्ट्रसेवक कर्मचारी, खेलकुद, धर्म–संस्कृति तथा कला–साहित्य विधामा योगदान पुर्‍याएका दर्जनौँ व्यक्तित्वलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिएका व्यक्तिहरूको सम्मान गर्दै नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्ने उद्देश्य राखेको थियो।

प्रतिक्रिया दिनुहोस्