कुटपिटबाट घाइते युवाको मृत्यु, चार जना पक्राउ



गोरखा,जेठ ३१ । गोरखा नगरपालिका–७ छिपिटोलस्थित गोरखा घर (दोहोरी साँझ) नजिक कुटपिटबाट गम्भीर घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बारपाक सुलिकोट गाउँपालिका–३ का ३२ वर्षीय सन्तबहादुर गुरुङ जेठ २७ गते राति कुटपिटबाट गम्भीर घाइते भएका थिए। उपचारपछि घर फर्किएका गुरुङ शनिबार साँझ अचानक बेहोस भएपछि पुनः अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटना हत्या प्रकरणका रूपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्