विश्वकपमा स्कटल्याण्डको विजयी सुरुआत, हाइटी १–० ले पराजित



एजेन्सी,जेठ ३१ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा स्कटल्याण्डले विजयी सुरुआत गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह ‘सी’ अन्तर्गतको खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क बटुलेको हो।

२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्याण्डका लागि जोन म्याकगिनले गरेको एकमात्र गोल निर्णायक बन्यो। उनले खेलको २८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि थप गोल नहुँदा सोही गोल नै स्कटल्याण्डको जितको आधार बन्यो।

सन् १९९८ पछि पहिलो पटक विश्वकपमा खेलिरहेको स्कटल्याण्डले पुनरागमनलाई जितबाट सुरु गर्दै समूह चरणमा बलियो संकेत दिएको छ।

यसअघि समूह ‘सी’ कै अर्को खेलमा पाँच पटकको विश्वविजेता ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका थिए। पहिलो खेलपछि स्कटल्याण्ड तीन अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ। मोरक्को र ब्राजिल समान एक–एक अङ्कका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने हाइटी अङ्कविहीन रहँदै पुछारमा छ।

विश्वकपअन्तर्गत आजै समूह ‘डी’ मा अस्ट्रेलिया र टर्कीबीच प्रतिस्पर्धा हुँदैछ। क्यानडाको भ्यानकुभर स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ९ः४५ बजे सुरु हुनेछ। यस्तै समूह ‘ई’ मा जर्मनी र कुराकाओबीचको खेल राति १०ः४५ बजे हुने तालिका छ।

प्रतिक्रिया दिनुहोस्