नुवाकोटमा सडक भासिँदा काठ बोकेको ट्रक दुर्घटना, चालक घाइते



नुवाकोट, जेठ ३१ — नुवाकोटको बेलकोटगढी नगरपालिका–११ स्थित बेतनी जंगल क्षेत्रमा रहेको पासाङ ल्हामु सडकखण्डमा काठ बोकेको ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्।

आइतबार बिहान करिब ११ः४५ बजे ककनीबाट भैरहवातर्फ जाँदै गरेको ना ६ ख ८९७१ नम्बरको ट्रक सडक मर्मत भइरहेको स्थानमा दुर्घटनामा परेको हो। चिलाउने र उतिसको काठ लोड गरिएको उक्त ट्रक सडकको दाहिने किनारा च्यापेर अगाडि बढाउने क्रममा सडक भासिएपछि नियन्त्रण गुमाएर करिब चार मिटर तलको भिरमा खसेर रुखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रक चालक धादिङको धुनीबेंसी नगरपालिका–९ निवासी करिब ४० वर्षीय माधव राना घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ। घाइते चालकलाई दिउँसो १ः३० बजे उपचारका लागि त्रिशूली अस्पताल, नुवाकोट ल्याइएको थियो। हाल उनको उपचार भइरहेको छ।

प्रारम्भिक जानकारीअनुसार सडक मर्मतका क्रममा निर्माणस्थल आसपासको भाग कमजोर बनेकाले सडक भासिएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनाको विस्तृत कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

स्थानीयवासीले सडक निर्माण तथा मर्मत कार्यका क्रममा सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न तथा जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस्