कांग्रेस दुई टुक्रा भएको सशांक कोइरालाको टिप्पणी, एकताको विकल्प नभएको दाबी



विराटनगर,जेठ ३१ । नेपाली कांग्रेसका नेता सशांक कोइराला ले नेपाली कांग्रेस दुई टुक्रा भएको टिप्पणी गर्दै पार्टी एकतामै जोड दिएका छन्।

नेपाली कांग्रेस इतर समूहले विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टी अहिले विभाजनको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यसको समाधान एकता मात्रै रहेको बताए।

उनले सर्वोच्च अदालत र निर्वाचन आयोगका गलत निर्णयका कारण कांग्रेस आजको अवस्थासम्म आइपुगेको दाबी गरे। वर्तमान परिस्थितिमा पार्टी एकता सबैभन्दा ठूलो र प्राथमिक आवश्यकता भएको उनको भनाइ थियो।

कोइरालाले कांग्रेस बलियो नभएसम्म देशको विकास सम्भव नहुने जिकिर गर्दै पार्टीभित्रका सबै पक्षलाई एकताबद्ध हुन आग्रह गरे।उनले वर्तमान सभापति गगन थापा लाई लक्षित गर्दै धेरै पुराना र अनुभवी नेताहरू पार्टीबाहिर रहँदा एक्लै पार्टी सञ्चालन गर्न सम्भव नहुने धारणा व्यक्त गरे। उनले कांग्रेसलाई सुदृढ बनाउन सबै नेता–कार्यकर्ताको साझा प्रयास आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्