चीन पुगे परराष्ट्रमन्त्री शिशिर खनाल, उच्चस्तरीय भेटवार्ता र लगानी सम्मेलनमा सहभागी हुने



काठमाडौं,जेठ ३१ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि चीनको बेइजिङ पुग्नुभएको छ। उहाँ गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको थियो।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार मन्त्री खनाल स्थानीय समयअनुसार आज अपराह्न बेइजिङ पुग्नुभएको हो। विमानस्थलमा उहाँलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।परराष्ट्रमन्त्रीको सम्मानमा नेपाली दूतावासले आज साँझ स्वागत समारोह आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा उहाँले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, द्विपक्षीय सहकार्य विस्तार गर्ने तथा साझा हितका विषयमा वार्ता गर्नुहुनेछ। साथै, उहाँले चीनका विभिन्न उच्च अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा समेत मन्त्री खनाल सहभागी हुनेछन्। सम्मेलनका क्रममा उहाँले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग लगानी र आर्थिक सहकार्यका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्