टेम्पो भीरबाट खसालिएको घटनामा ११ वन कर्मचारी नियन्त्रणमा



कैलाली,जेठ ३१ । कैलालीमा एक महिलाको टेम्पोलाई भीरबाट खसालिएको घटनामा प्रहरीले ११ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार घटनाबारे सोधपुछका लागि कर्मचारीहरूलाई नियन्त्रणमा लिइएको हो।

भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा शुक्रबार टेम्पो भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा र विरोध निम्त्याएको थियो। घटनापछि डिभिजन वन कार्यालय धनगढीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा प्रचार भएजस्तो कर्मचारीहरूले बल प्रयोग गरेर टेम्पो भीरबाट नखसालेको दाबी गरेको छ। कार्यालयका वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहराले कर्मचारीबाट नियोजित रूपमा बल प्रयोग नगरिएको र घटनाबारे तथ्यभन्दा फरक प्रचार गरिएको बताएका छन्।

तर टेम्पो धनी कैलालीको गोदावरी नगरपालिका–४ बासपानी निवासी धनादेवी धामीले भने वन कर्मचारीहरूले बल प्रयोग गरी आफ्नो टेम्पो भीरबाट खसालेको आरोप लगाएकी छन्। उनले कानुनी प्रक्रिया पूरा नगरी आफ्नो रोजीरोटीको मुख्य साधन नष्ट गरिएको भन्दै राज्यका निकायको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्।

धामीले घटनाका कारण आफू र आफ्नो परिवार आर्थिक तथा मानसिक रूपमा ठूलो संकटमा परेको बताएकी छन्। घटनाप्रति बढ्दो चासोका बीच सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि आवश्यक अध्ययन तथा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्