बाढीपीडित ७३ परिवारलाई नयाँ घर हस्तान्तरण
महोत्तरी,असार १ । महोत्तरीको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित ७३ परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ। गत असोज १९ र २० गते रातो खोलामा आएको बाढीका कारण घरवारविहीन बनेका दलित, गरिब तथा अतिविपन्न परिवारका लागि निर्माण गरिएका घर आइतबार सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिएको हो।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा दलित समाज उत्थान समिति नेपालको साझेदारीमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत बाढीपीडित परिवारलाई निर्माण सामग्री उपलब्ध गराएर घर निर्माण गरिएको थियो।
भङ्गहा–४ स्थित थारुटोलमा आयोजित कार्यक्रममा नगरप्रमुख सञ्जीवकुमार साहलाई गुड नेवर्स इन्टरनेशनलका प्रतिनिधि टुपेन्द्र खुलाल र दलित समाज उत्थान समितिका प्रतिनिधि रामभजन महतोले संयुक्त रूपमा घरको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।
परियोजनाअनुसार वडा नं. १ मा एक, वडा नं. २ मा तीन, वडा नं. ३ मा आठ, वडा नं. ४ मा १२, वडा नं. ५ मा आठ, वडा नं. ६ मा १२, वडा नं. ७ मा आठ, वडा नं. ८ मा पाँच र वडा नं. ९ मा १६ वटा गरी कुल ७३ घर निर्माण गरिएको छ। रु १ करोड १ लाख ७१ हजार ५७४ लागतमा निर्माण गरिएका घरबाट ३७५ जना प्रत्यक्ष लाभान्वित भएका छन्।
घर हस्तान्तरण कार्यक्रममा नगरप्रमुख साहले बाढीपीडित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउन सहयोग गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, सरसफाइ, बालअधिकार, बालविवाह न्यूनीकरण तथा आयआर्जनका क्षेत्रमा संस्थाले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले नगरको समग्र विकासका लागि आगामी दिनमा पनि निरन्तर सहकार्य र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।

